काठमाडौं– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीका राम्रा नेता/कार्यकर्ताहरु अब पनि जागरुक भएर अगाडि नआए पार्टी धराशायी हुने चेतावनी दिएका छन्।
पार्टीमा आमूल रुपान्तरण र सुधारको खाँचो रहेको भन्दै नेता घिमिरेले पार्टीका हरेक युवा कार्यकर्ताले आफ्नो मनको आगोलाई राँको बनाएर अगाडि देखिनुपर्ने बेला भएको बताए।
कांग्रेसमा आमूल रुपान्तरण र सुधारका लागि बिहीबार काठमाडौंमा युवाहरुले गरेको भेलालाई सम्बोधन गर्दै नेता घिमिरेले पार्टी नेतृत्वले अब पनि कमीकमजोरी नसच्याए सकिने अवस्था आउने चेतावनी दिए।
उनले पार्टीमा रुपान्तरणका लागि सदस्यता वितरणदेखि अवसरको बाँडफाँटसम्म नै पारदर्शिताको खाँचो रहेको भन्दै त्यसका लागि अभियान चलाउनुपर्नेमा जोड दिए। सदस्यता प्रणालीदेखि टिकट वितरणसम्म सिन्डिकेट रहेको भन्दै उनले यसको अन्त्य हुनुपर्ने बताए।
पार्टीमा सुधार र परिर्वतनको कुरा गरेमा पार्टीमा कुनै पनि अवसर नपाउने त्राससम्म रहेको उनको भनाइ छ। नेता घिमिरेले पार्टी नेतृत्वको गलत कार्य अब पार्टीभित्रैबाट भण्डाफोर गर्नुपर्ने समय आएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।