काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका सबै संसदलाई एकैपटक मन्त्री बनाउन सम्भव नरहेको भन्दै पालैपालो सबैले मौका पाउने बताएका छन्। बिहीबार देउवा निवास धुम्बाराहीमा भएको छलफलमा पदाधिकारीहरुले हालै कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुका बारेमा प्रश्न उठाएका थिए।
जवाफमा सभापति देउवाले पार्टीका सबै सांसदको मन्त्री बन्ने इच्छा हुनु स्वभाविक भएको भन्दै अर्को पटक फेरि नयाँहरुलाई अवसर दिइने बताए। पदाधिकारीहरुको अनौपचारिक बैठकमा देउवाले हतार–हतारमा बुधबार मन्त्रीहरुको नाम दिनु परेको बताएको सहमहामन्त्री भिष्मराज आङ्दाम्बेले बताए।
साथै देउवाले बैठकमा सरकारमा सहभागी हुने मन्त्रीबारे हतारमा सिफारिस गर्नुपर्दा पार्टीमा सरसल्लाह गर्न नपाएको स्वीकारेका छन्। बैठकमा पार्टीबाट मन्त्रीहरुको नाम सिफारिस हुँदा पार्टीका महामन्त्रीहरुलेसमेत थाहा नपाएको प्रश्न उठेको थियो।
देउवाले अर्कोपटकदेखि पार्टीभित्र सल्लाह गरेरै मन्त्री पठाउने बताएका छन्। आज बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टीका भातृ संस्थाहरुका कमिटीहरुलाई भोलिदेखि पूर्णता दिनेगरी गृहकार्य सुरु गरिएको सहमहामन्त्री आङ्दाम्बेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।