गगन थापा (फाइल तस्बिर)
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगी प्रकरणमा गहिरोसँग अनुसन्धान हुनुपर्ने बताएका छन्।
थापाले ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको उल्लेख गर्दै यो प्रकरणमा गृह प्रशासनको (अनुसन्धान) प्रयास प्रशंसनीय भएको बताएका छन्।
यो विषय घटना मात्रै नभएर प्रवृत्ति भएको उल्लेख गर्दै थापाले यससँग जोडिएका कोही छुट्न नहुने बताएका छन्। ‘संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानुनभन्दा माथि कोही हुँदैन,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्– ‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो। अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन्। संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्,कानुनभन्दा माथि कोही हुँदैन।’
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं रकम ठगी गरेको विषयमा प्रहरीले केही महिना अगाडिदेखि अनुसन्धान सुरु गरेको थियो।
यो प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल)का सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृहसचिव (हाल उपराष्ट्रपति कार्यालयका सचिव) टेकनारायण पाण्डे, पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायत ८ जना पक्राउ परेका छन्।
प्रहरीले पूर्वउपप्रधानमन्त्री रायमाझीको समेत संलग्नता रहेको भन्दै अनुसन्धान अगाडि बढाएपछि जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको छ। यस्तै, तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ। प्रहरीले रायमाझी र थापाको खोजी जारी रहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।