काठमाडौं- नेकपा एमालेका उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका प्रवेश गराएको विषयमा निष्पक्ष रुपमा छानबिन हुनुपर्ने बताएका छन्। एमाले सचिव एवं प्रतिनिधि सभा सांसद टोपबहादुर रायमाझी मुछिएको विषयमा दलले कुनै पनि धारणा औपचारिक रुपमा नबनाएको तर आरोप लागेकामा छानबिन हुनुपर्ने गुरुङले बताए ।
नेकपा एमालेले केही समयपछि बैठक बसेर उक्त विषयमा औपचारिक धारणा सार्वजनिक गर्ने पनि उनले बताए। ‘राम्राोसँग छानबिन होस् । सत्य-तथ्य सार्वजनिक पनि होस्,’ गुरुङले भने, ‘पूर्वाग्रह नराखी छानबिन हुनुपर्छ। सत्य-तथ्य निकाल्ने र छानबिन गर्ने विषयमा एमालेले अवरोध गर्नुपर्ने वा आपत्ति जनाउनुपर्ने कुनै कारण छैन।’
माओवादी केन्द्रबाट एमालेतिर लागेका रायमाझी अर्घाखाँचीबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ विजयी भएका थिए। नेकपा विभाजन हुँदा उनी मुल पार्टी छोडेर एमालेतिर लागेका थिए।
रायमाझीसँगै उनका छोरा पनि संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको छ। उनी जिल्लाको कार्यक्रममा रहेकाले प्रहरीले बुधबार पक्राउ पूर्जी मात्र जारी गरेको थियो। प्रहरीले उनलाई पनि पक्राउ गर्ने तयारी गरिरहेको छ।
प्रहरीले उक्त प्रकरणमा गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।