काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज (बिहीबार) अदालतमा प्रस्तुत गरिने भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई काठमाडौं ल्याएर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने जनाएको छ। सन्दीप बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए।
उनलाई बिहीबार बिहान भैरहवा विमानस्थलबाट विमानमार्फत् काठमाडौं ल्याउन लागिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
बुधबार मात्रै नेता रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। यस्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी प्रकरणमा हालसम्म ८ जना पक्राउ परेका छन्। गृहमन्त्री थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई र तत्कालीन गृहसचिव तथा हाल उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डेसहितलाई प्रहरीले पक्राउ गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।