काठमाडौं– उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका लैजान भनेर भएको ठगी प्रकरणको अनुसन्धानका लागि सचिव पाण्डे पक्राउ परेका हुन्।
सचिव पाण्डेलाई कोटेश्वरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगी प्रकरणमा प्रहरीले यसअघि द्वन्द्व विज्ञ तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि पक्राउ परेका थिए।
पाण्डे यसअघि गृह मन्त्रालयको सचिव थिए। पाण्डे गृहसचिव भएका बेला ठगी भएको पाइएको र पक्राउ परेका व्यक्तिले उनको नाम लिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।