काठमाडौं– आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा मोरङ प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ बस्ने ५५ वर्षीय प्रगति भन्ने गति पोखरेल र सोही महानगरपालिका–४ बस्ने ३६ वर्षीया सविना पोखरेल रहेका छन्।
विराटनगर महानगरपालिका–३ बस्ने गोविन्द प्रसाद नेपालले वैशाख १४ गते विहान सोही महानगरपालिका–४ तित्रिगाछी भन्ने स्थानमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए। तत्काल उपचारको लागि विराटनगरस्थित रेडप्लस अस्पताल लगिएकोमा उपचारको क्रममा वैशाख १५ गते उनको मृत्यु भएको थियो।
उक्त घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङमा आत्महत्या गर्न दुरुत्साहन गरेको भन्ने जाहेरी परेकोमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो। गति पोखरेललाई उनकै घरबाट र सविना पोखरेललाई झापा कमल गाउँपालिका–४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
पक्राउ परेका २ जनाविरुद्ध जिल्ला अदालत मोरङबाट आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा ५ दिन म्याद थप अनुमति लिइ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।