काठमाडौं– लोक सेवा आयोगले २०७९ सालको मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञानपहरुमा आवेदन दिएका आवेदकको डेटा हराएको भन्दै पुन: दरखास्त आह्वान गरेको छ। आयोगले शाखा अधिकृत वा सो सरह (अप्राविधिक) तथा नायव सुब्बा वा सो सरह (अप्राविधिक/प्राविधिक) पदका लागि प्रकाशित विज्ञापनहरुमा पुन: दरखास्त आह्वान गरेको हो।
लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिरहेको सरकारी एकीकृत डेटा सेन्टर (जीआईडीसी) मा ३ फागुन २०७९ मा समस्या देखिएको थियो। डेटा सेन्टरमा देखिएको समस्याका कारण लोक सेवाको विज्ञापनमा आवेदन दिएकाहरुको डेटा समेत हराएको थियो।
सरकारी एकीकृत डेटा सेन्टरबाट डेटा रिकभर (पुनर्प्राप्ती) को काम भइरहेको, तर प्रक्रिया कहिलेसम्म पूरा हुने र के कति डेटाहरु रिकभर हुने सम्बन्धमा यकिन गर्न नसकिएकाले पुन: दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार गत मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनमा दरखास्त दिइ परीक्षा दस्तुर बुझाइ दरखास्त स्वीकृत भएका र स्वीकृत हुन बाँकी उम्मेदवारले मात्रै पुन: दरखास्त दिन पाउनेछन्।
पुन: दरखास्त दिँदा शुल्क तिर्नु पर्ने छैन। सम्बन्धित उम्मेदवारहरुले जेठ १८ गतेभित्र पुन: दरखास्त पेस गरिसक्नुपर्ने आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।