काठमाडौं– दार्चुलामा हिमपहिरोमा परी ५ जना बेपत्ता भएका छन्। हिमपहिरोमा फसेका १२ जनामध्ये ७ जनाको सशस्त्र प्रहरीले उद्धार गरे पनि ५ जना भने बेपत्ता रहेका सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति डम्बर बहादुर विष्टले जानकारी दिए।
बहुमूल्य हिमालीट जडिबुटी यार्सगुम्बा संकलन गर्न गएकाहरु हिमपहिरोमा परेका हुन्। बेपत्ता हुनेहरुमा ४ जना महिला र १ जना पुरुष छन्।
डोटीको जोरायल गाउँपालिका, बुँडरकी ४५ वर्षीया नक्नी डोल्मा थापा, २८ वर्षीया ईश्वरी थााप, १५ वर्षीया किशोरी क्षिमी सोमो थापा बेपत्ता छन्। यस्तै, दार्चुलाको दुहु गाउँपालिका घर भएकी कमला कुँवर र दुहु गाउँपालिकाकै प्रविण कुवर पनि बेपत्ता छन्।
दार्चुलाको ब्याँस गाउँपालिका–१ मा पर्ने भोलिन वनमा मंगलबार दिउँसो करिब ३ बजेतिर हिमपहिरो गएको थियो। पाल टाँगेर बसेका यार्सा संकलकहरु हिमपहिरोमा परेका थिए।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरुका डीएसपी ईश्वरी दत्त भट्टका उद्धारका लागि खटिएको टोलीले यार्सा संकलकहरुले टाँगेको पाल भित्र र वरपर खोजी गरेको थियो। ७ जना सकुशल भेटिए पनि ५ जना भने नभेटिएको डीएसपी भट्टले जानकारी दिए।
सशस्त्र प्रहरी बलको टोलीले मंगलबार साँझसम्म खोजी गरेको थियो। हिमपात जारी रहेका कारण खोजी कार्य कठिन भएपछि उद्धार गर्न गएको टोली फर्किएको थियो। बुधबार पनि खोजी कार्य जारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।