खोटाङ- कारागारबाट फरार एक कैदी १३ वर्षपछि पुनः पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ वर्षीय वीरबहादुर तामाङ रहेका छन्। उनी २०६२ साल असार ५ गते कारागारबाट भागेका थिए। प्रहरीले उनलाई बिहीबार घरैबाट पक्राउ गरेको हो।
पक्राउ परेका तामाङलाई बिहीबारै जिल्ला अदालतमा हाजिर गराएर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए।
'हत्यामा संलग्नमध्ये कटकबहादुर तामाङ यसअघि नै पक्राउ परेर कैद भुक्तान गरिरहेका छन्,' उनले भने, 'घटनामा संलग्न अझै एक जना फरार छन्, उनको खोजी भइरहेको छ।'
२०६० असोज १५ गते स्थानीय २१ वर्षीय नवराज दाहालको हत्या गरेको अभियोगमा तामाङसहित तीन जना पक्राउ परी पुर्पक्षका लागि कारागारमा रहेका थिए। जिल्ला अदालत खोटाङले २०६३ चैत ६ गते तीनै जनालाई २०/२० वर्ष कैद सजायको फैसला गरेको थियो।
दाहालको हत्या लगत्तै पक्राउ परेका उनीहरुले दुई वर्ष नौ महिना १० दिन कैद भुक्तानी गरिसकेका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।