काठमाडौं– यातायात व्यवस्था कार्यालय सुकेधाराका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार भट्टराईविरुद्ध १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो।
भट्टराईले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०३८ साउन १ गतेदेखि २०७५ मंसिर मसान्तसम्मको जाँच अवधिमा १ करोड भन्दा बढी अकुत सम्पत्ति कमाएको अख्तियारको दाबी छ।
भट्टराईले अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको देखिएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको दाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
भट्टराईले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति तथा त्यसबाट बढे–बढाएको सम्पत्ति र स्रोत खुलेको सम्पत्ति समेत आफ्नी पत्नी मुना अधिकारी भट्टराई एवं छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको देखिएको अख्तियारले उल्लेख गरेको छ।
उनीहरुको नाममा रहेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र मुना अधिकारी भट्टराई, उत्सुक भट्टराई र प्रेरिका भट्टराईलाई समेत प्रतिवादी कायम गरिएको उल्लेख गरिएको छ।
आमा इन्दिरा भट्टराईको नाममा रहेको सम्पत्ति भने उनको मृत्यु भइसकेकाले उनको नाममा रहेको सम्पत्ति समेत जफत हुनुपर्ने माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।