काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु)को मृत्युप्रति दु:ख व्यक्त गरेको छ। महामन्त्री डा मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा पार्टी निर्माणमा थापाको पनि योगदान रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा चालक थापाको उपचारका क्रममा निधन भएको र उनको देहावसानबाट पार्टी परिवार स्तब्ध भएको बताइएको छ। ‘उहाँ पार्टी स्थापनाकालदेखि नै कार्यरत हुनुहुन्थ्यो। पार्टी आज यहाँसम्म आइपुग्नुमा उहाँको ठूलो योगदान रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो जिम्मेवारीप्रति सदैव इमान्दार, मिलनसार तथा भद्र व्यक्तिका रुपमा लोकप्रिय हुनुहुन्थ्यो। यस दुःखद घडीमा सम्पूर्ण रास्वपा परिवार उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।’

वैशाख १० गतेको उपनिर्वाचनका लागि चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते, बिहान ४ बजे चितवनस्थित रवि लामिछानेको भाडाको घरको छतबाट थापा गम्भीर घाइते भएका थिए।
चितवनमा प्रारम्भिक उपचार गरेर थापालाई थप उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। थापाको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।
थापासँगै रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक समेत सुतेका थिए। तर, ढकालका चालकले भने थापा छतबाट खसेकोबारे आफूलाई थाहा नभएको भनेर प्रहरीलाई बयान दिएका थिए।
प्रहरीले थापाको दुर्घटनाका सन्दर्भमा छानबिन जारी रहेको जनाएको छ। अनुसन्धानमा भएको प्रगतिबारे प्रहरीले हालसम्म कुनै विवरण सार्वजनिक गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।