काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कायम रहिरहे देश छिट्टै टाट पल्टिने टिप्पणी गरेका छन्। ओलीले देशमा अहिले पैसा नभएको बताए।
राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको बताए। मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएकोतर्फ पनि सचेत गराए।
देश बर्बादीतिर जाँदैछ भनेर बुझ्नु परेको ओलीले उल्लेख गरे। खनिजजन्य, खानीजन्य उद्योगहरु, उत्पादनहरु ठप्प प्रायः भएको उल्लेख गर्दै ओलीले अरु औद्योगिक क्षेत्र पनि बर्बाद भएको दाबी गरे।
ओलीले भने, ‘पूर्ण रुपमा अर्थतन्त्र ओरालो लाग्यो। असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन्। अब यदि १८ महिना भित्र डेढ वर्षको स्थितिमा, अव यस्तो अवस्थामा अर्थतन्त्र पुगेपछि, अव डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने, आरालो लागेको स्थितिलाई रोक्न सकिएन भने फेरि मुस्लिक हुन्छ। देश असफल राष्ट्र बन्ने खतरा हुन्छ। यहाँ यत्तिकै हाहाहुहुँ गरेर कुद्नेहरु, २/४ ढुंगा हानेर कुद्नेहरु, तिनलाई देशको के मतलव? तिनको समर्थनमा स्टाटस लेखेर समर्थन गर्दै हिँडनेहरुलाई देशको के मतलव। तर तपाईं हामीले मतलब राख्नु परेको छ। हामीले बुझ्नु परेको छ कि देश बर्बादीतिर जाँदैछ। खनिजजन्य, खानीजन्य उद्योगहरु, उत्पादनहरु ठप्प प्रायः भएका छन्। अरु औद्योगिक क्षेत्र बर्बाद भएको छ। उद्योगहरु बन्द प्रायःको स्थितिमा छ। समाप्त भइराखेको छ। यस्तै निर्माण व्यवसाय ध्वस्त भएको छ। नेकपा एमालेको समयमा दिनमा डबल लेन, फोर लेन, ६ लेनका बाटा बनेपछि ६ किलोमिटरका दरले बाटा तयार हुन्छ भनेपछि निर्माण कार्य धमाधम हुनुपर्छ। पुनर्निर्माणको त्यत्रो कार्य गर्यौं हामीले। निर्यात घटेको छ। आयात त पैसा भएको पो मगाउने ? त्यस स्थितिमा गइसकेको छ। आयात कम भएको देखिए पनि भइराखेको छ भन्सार छलेर। जसले गर्दा भन्सार उठेको छैन। भन्सार, कर, राजस्व वृद्धि हुनुपर्ने ठाउँमा कम भइराखेको छ। राजस्व कम यो लामो समयपछि भइरहेको छ। तीव्र गतिका साथ अर्थतन्त्र माइनसमा गइरहेको छ। त्यसकारण अर्थतन्त्र संकटमा छ। देश संकटमा छ। यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ। देश टाट पल्टिँदैछ। तर एउटा उद्योगपति, जो सत्तापक्षीय उद्योगपति उसको ४० अर्ब खुद नाफा १ वर्षमा। एउटा व्यक्तिले ४० अर्ब थप कमायो। सम्पत्ति बढायो ४० अर्ब। देशमा अहिले स्थानीय तहमा समपूरक बजेट ५० प्रतिशतभन्दा बढी पठाउन सक्दिन भनेर सरकारले लत्तो छोडिसक्यो। अआ उनीहरुले काम लगाइ सक्या छ। ठेक्का लगाइसक्या छ। उपभोक्तालाई काम दिइसक्या छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।