काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरु सरकारको स्थिरताको पक्षमा रहेको बताएका छन्। मंगलबार प्रतिनिधि सभा सदस्यको रुपमा सभामुखबाट शपथ ग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष यादवले आफूहरु सरकारको स्थिरताको पक्षमा रहेको बताए।
सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ भन्ने पक्षमा पार्टी रहेको यादवको भनाइ छ। अस्थिरताले कसैको हीत नगर्ने र लोकतन्त्रलाई कमजोर बनाउने भन्दै जनतामा वितृष्णा जाग्न दिनु नहुने उल्लेख गरे। अध्यक्ष यादवले सरकार निर्माणको सम्बन्धमा राष्ट्रिय समझदारी बन्नुपर्नेमा जोड दिए।




यादवले भने– ‘सरकारको स्थिरता लोकतन्त्रको विकासमा अत्यन्त महत्त्वपूर्ण हुन्छ। नेपालमा त झन् आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थिरता आवश्यक छ। सरकारलाई पहिले स्थिरता दिने। दोस्रो कुरा संसदीय समितिहरु अगाडि नै भइसक्नुपर्ने थियो त्यसका निर्वाचनहरु। त्यसलाई अब यथाशीघ्र गर्नुपर्दछ। र संसदीय समिति नै संसदीय प्रणालीको फङ्सनल विङ हो। त्यसलाई निर्माण गर्ने, एक्टिभेट गर्नु आवश्यक छ। धेरै विधेयक परिराखेका छन्। धेरै विधेयक आउनुपर्ने छ। यी सबै कार्यहरुलाई गतिशिलता दिनुपर्दछ। सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ भन्ने पक्षमा हामी छौँ। अस्थिरताले कसैको हीत गर्दैन। लोकतन्त्रलाई कमजोर बनाउँछ। र जनतामा वितृष्णा जाग्ने स्थिति हुन्छ। त्यो गर्न दिनुहुन्न। म त चाहन्छु अब बृहत् समझदारी बनोस्। सक्यौँ भने एउटा राष्ट्रिय समझदारी बनोस्। र समझदारीका आधारमा मुलुकमा सरकारको स्थिरता, स्थायित्व, आर्थिक विकास र समृद्धितर्फ मुलुक अगाडि बढोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।