काठमाडौं- निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन) र चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले निजी अस्पतालमा काम गर्ने डाक्टरहरुको तलब बढाउने निर्णय गरेको छ।
अफिन र संघले निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब ४८ हजार ७ सय ३७ रुपैयाँ बनाउने निर्णय गरेको हो। यसअघि यी दुवै संस्थाले दुई वर्षअघि मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकेको थियो।
अफिन र संघले दुई वर्षको अवधिमा बढेको मूल्यवृद्धि लगायतका विषयलाई मध्यनजर गर्दै मेडिकल अफिसरको तलब बढाउने निर्णय गरेको हो।
संघ र अफिनले उक्त नयाँ तलब कार्यान्वयनमा ल्याउन सम्पूर्ण चिकित्सक, स्वास्थ्य संस्था र अस्पताललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।
'निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा मासिक रुपमा नियुक्ति लिई सेवा पुर्याउने मेडिकल अफिसर (हाउस अफिसर)हरुको पारिश्रमिकको हकमा न्यूनतम ४८७३७ कायम गर्ने गराउने निर्णय गरिएकोले सोको कार्यान्वयनका लागि सम्पूर्ण चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पताललाई अनुरोध गरिन्छ,' अफिनका अध्यक्ष डा पदम बहादुर खड्का र चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्कीद्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ।
संघ र अफिनको बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय समेत गरेको छ।
बैठकले जेठदेखि लागू हुने गरी ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।