काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साइबर सुरक्षाको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै चाँडै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्न लागिएको बताएका छन्। उनले साइबर सुरक्षाका लागि आवश्यक नीति नियम र संचना बनाउने कार्यलाई सरकारले प्राथमिकता दिएको दाबी गरेका छन्।
छैटौं सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा मंगलबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक क्षेत्रबाट प्रवाह हुने सेवाहरु सूचना प्रविधि मैत्री हुँदै गइरहेको भन्दै सार्वजनिक सेवा प्रवाहका क्षेत्रलाई सहज र सरल बनाउने सन्दर्भमा पनि सूचना तथा सञ्चार प्रविधि थप सहयोगी बन्दै गइरहेको उल्लेख गरेका छन्।
‘सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त छ,‘ उनले भनेका छन्, ‘यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावली लगायतका कानुनी व्यवस्थाका लागि सरकार प्रतिवद्ध छ।’
सरकारले सूचना प्रविधिको उपयोग गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुपान्तरण गर्ने विश्वासका साथ डिजिटल नेपाल फ्रेमवर्क, २०७६ कार्यान्वयनमा ल्याएको उनको दाबी छ।
सरकारी सेवामा सूचना प्रविधिका दक्ष जनशक्ति भित्र्याउन र उपलब्ध जनशक्तिलाई सेवामा टिकाइराख्नका लागि समयसापेक्ष नीतिगत सुधार गर्दै लगिने पनि प्रचण्डले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।