काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले आज (मंगलबार) प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। मंगलबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नेछन्।
मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार बिहान ११ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको छ।
नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका नेता चौधरी गत बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। उनले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए।
मुख्यमन्त्री नियुक्त हुँदा चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ४ , जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका १–१ र स्वतन्त्र १ सांसद गरी ५३ जना सांसदको समर्थन थियो।
प्रदेश सभामा विश्वासको मत माग्नेसम्बन्धी प्रस्ताव पेस हुँदा मुख्यमन्त्री चौधरीले ५३ जनाकै समर्थन प्राप्त गर्ने सम्भावना छ। प्रदेश सभाबाट विश्वासको मत पाएपछि सरकार विस्तार गर्ने चौधरीको तयारी छ।
शुक्रबार पद तथा गोपनीयताको शपथ लिँदा चौधरीले ३ जना मन्त्रीलाई समेत नियुक्त गरेका थिए। माओवादी केन्द्रबाट धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे मन्त्री बनेका थिए। दलहरुबीच मन्त्रालयको भागबण्डा नमिल्ला मन्त्रीहरुको जिम्मेवारी भने तोकिएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।