काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैंले व्यहोर्नुपर्ने बताएका छन्।
सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैंले आफ्नो उपचार खर्च व्यहोर्नुपर्ने बताएका हुन्।
भारतबाट उपचार गरेर आइतबार स्वदेश फर्किएका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभइ आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने महामन्त्री थापाले बताए।
उनले राष्ट्रपति पौडेललाई उपचार खर्च आफैं व्यहोर्छु भनेर सार्वजनिक गर्न आग्रहसमेत गरे। गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैं उपचार गर्नुपर्ने विभेद हुनु नहुने महामन्त्री थापाको भनाइ थियो।
महामन्त्री थापाले कांग्रेसले विगतमा निर्वाचन अगाडि अन्य दलसँग गरेको गठबन्धनप्रति गल्ती महशुस गर्नुपर्ने बताए। उनले आगामी दिनमा पार्टीले कुनै पनि दलसँग कहिल्यै पनि गठबन्धन गर्नु नहुने तर्क गरे।
यस्तै महामन्त्री थापाले आगामी आर्थिक वर्षको बजेट बन्दै गरेको भन्दै बजेटमा श्रमिकहरुको न्यूनतम ज्याला पुनरावलोकनको माग राख्न ट्रेड युनियनकर्मीहरुलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।