काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको नाममा थोपरिएको प्रदेश संरचना नेपाललाई घाँडो भएको बताएका छन्।
१३४ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा राप्रपा नेपाल निकट श्रमिक संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अर्थतन्त्र समाप्त पार्ने किटाणुको रुपमा रहेको प्रदेश संरचना खारेज गरेर केन्द्रीय सरकार र स्थानीय तहमा अधिकारसम्पन्न सरकारको अवधारणामा बहस र छलफल थाल्न सबै राजनीतिक दललाई आग्रह गरेका छन्।
थापाले लोकतन्त्रको आवरणमा लुटतन्त्र चलिरहेको भन्दै सीमित दलका सीमित नेताहरु आलोपालो ब्रम्हलुटमा लिप्त भएको आरोप लगाए। भ्रष्टाचारको विरोध गर्ने, सुशासनको नारा दिने नयाँ दलहरुले ब्रम्हलुटको बारेमा बोल्न अल्छी गर्नु बिडम्बना भएको उनको तर्क थियो।
माओवादी शान्ति प्रक्रियामा आउनु राम्रो भएको तर शान्ति प्रक्रियाको नाममा बारम्बार लुट मच्चाउन खोज्नु स्वीकार्य नहुने भन्दै थापाले अयोग्य लडाकूको नाममा करोडौं बाड्ने कुरामा आपत्ति जनाए। व्यक्ति परिवर्तनले मात्र मुलुकको समस्याको समाधान नहुने भन्दै अहिलेको राजनीतिक मार्गचित्र परिवर्तन गर्नुपर्ने थापाको जोड थियो।
यस्तै अध्यक्ष थापाले नेपालमा धर्म परिवर्तनको डढेलोले आफूलाई पहिचानवादी भन्नेहरुको नै पहिचान समाप्त हुन लागेको भन्दै थापाले हिन्दू, बौद्ध र किरात धर्म मान्नेहरुको संख्या अघिल्लो जनगणनामा भन्दा ज्यादै न्यून भएकै कारण सरकारले धर्मको आधारमा जनगणनाको रिपोर्ट सार्वजनिक नगरी लुकाएको आरोप लगाए।
संगठित रुपमा विभिन्न प्रलोभन देखाएर विशेषतः आदिवासी जनजाती एवं दलित वर्गलाई असंख्य परिमाणमा धर्म परिवर्तन गराइएकाले यो समूहको पहिचान नै संकटमा पर्नसक्ने संभावना टड्कारो देखिएकोले आफ्नो धार्मिक पहिचान जोगाउन सबैले समयमै सचेत हुन अनुरोध गरे।
यस्तै नेपालमा श्रम गरेर गुजारा गर्ने मजदुरहरुको अवस्था अत्यन्तै कष्टप्रद रहेको उल्लेख गर्दै अध्यक्ष थापाले राजनीतिक परिवर्तनमा श्रमिकहरुको उल्लेख्य योगदान रहे पनि औद्योगिकरण र आर्थिक रुपान्तरण नभएका कारण श्रमिकहरु लाभान्वित हुन नसकेको बताए। योगदानमा आधारित सामाजिक सुरक्षा, पेन्सन आदिजस्ता श्रमिकका पक्षमा कदम चालिए पनि व्यवहारमा लागू हुन नसकेकोले श्रमिकको हकहितको लागि लड्ने ट्रेड युनियनहरुलाई यसतर्फ चनाखो हुन थापाले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।