काठमाडौं- राष्ट्रिय जनमोर्चाले नेपालमा अमेरिकी साम्राज्यवाद विरुद्ध मेची-महाकाली अभियान सञ्चालन गर्ने भएको छ। अमेरिकी साम्राज्यवादको खतरा बढेको भन्दै उक्त अभियान सञ्चालन गर्ने बताइएको हो।
अभियानहरू दुई भागमा विभाजित गरी सम्पन्न गरिने उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले बताएकी छिन्। जेठ १ गते महेन्द्रनगर र बाग्लुङमा उद्घाटन गरिने बताइएको छ। दुवै अभियानहरुको जेठ १५ गते एकै दिन बुटवल र काठमाडौंमा समापन गरिने छ।
उक्त अभियानका कार्यक्रमलाई दुवै चरणमा दुई–दुई टोलीले क्रमशः सम्पन्न गर्ने बताइएको छ। महेन्द्रनगरबाट सुरु भएको प्रथम भागको अभियानको पहिलो टोलीको महेन्द्रनगरदेखि सुर्खेतसम्म राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेतृत्व गर्नेछन् भने तुलसीपुरदेखि बुटवलसम्मको दोस्रो टोलीको नेतृत्व राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष र प्रवक्ता पौडेलले गर्नेछिन्।
बाग्लुङबाट सुरु भएको दोस्रो भागको पहिलो टोलीको नेतृत्व राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले र बारादेखि सुरु भएको दोस्रो टोलीको नेतृत्व राष्ट्रिय जनमोर्चाका हिमलाल पुरीले गर्नेछन्। प्रत्येक टोलीमा ५ देखि ८ जनासम्मको सहयोगीहरु रहने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।