फाइल तस्बिर
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने कि प्रतिपक्षमा बस्ने भन्ने विषयमा आगामी शुक्रबार निर्णय गर्ने भएको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकपछि रास्वपाका महामन्त्री मुकुल ढकालले उक्त जानकारी दिएका हुन्।
उनले भने,‘हामी अहिलेको जस्तो समर्थन पनि गर्ने र सरकार बाहिर पनि बस्ने कुरा रहँदैन।’ सरकारलाई दिएको समर्थन कायमै राख्नुपरेमा सरकारमै सहभागी हुने तर सरकारमा सहभागी हुने अवस्था नआए समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने ढकालले बताए।
उपनिर्वाचन पछि सोमबार बसेको केन्द्रीय समिति बैठकमा पार्टी सभापति रवि लामिछानेले आइतबार प्रधानमन्त्रीसँग भएको भेटबारे ब्रिफिङ गरेका थिए। लामिछानेले प्रधानमन्त्रीले सरकारमा सहभागी हुन आग्रह गरेको बताउँदै पार्टीका नेताहरुलाई त्यसबारेमा सुझाव दिन आग्रह गरेका थिए।
रास्वपा महामन्त्री ढकालले केन्द्रीय सदस्यहरुले सोमबार आ–आफ्ना सुझाव दिएको र यसबारे सोमबारकै संसदीय दलको बैठकमा पनि छलफल हुने बताए। शुक्रबारसम्म भने सरकारबारे आफ्नो पार्टी ठोस निर्णयमा पुग्ने ढकालले बताए। उनका अनुसार यो बीचमा भने प्रधानमन्त्री प्रचण्डसँग थप छलफल हुनेछन्।
आइतबार भेटमा प्रधानमन्त्रीले रास्वपा सभापति लामिछानेलाई रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्दै मन्त्रिपरिषद्मा सहभागी हुन आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।