काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी छ। पार्टी मुख्यालयमा जारी बैठकमा उपचुनावमा पार्टीले प्राप्त गरेको जनमत, सरकारलाई दिएको समर्थन तथा सरकारमा सहभागिता र आगामी कार्यदिशाबारे छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन्।
प्रतिनिधि सभाको निर्वाचनमा २० वटा सिट जितेको रास्वपाले वैशाख १० गते भएको उपनिर्वाचनबाट थप १ सिट जितेको छ। चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने पुन: निर्वाचित भएका छन् भने तनहुँ १ बाट स्वर्णिम वाग्ले विजयी भएका छन्।
प्रतिनिधि सभाका रास्वपाका सांसदको संख्या २१ पुगेको छ।
उपनिर्वाचनपछि सत्ता गठबन्धन, विशेष गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन्। प्रचण्डले सोमबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रास्वपा सरकारमा सहभागी हुने विश्वास व्यक्त गरेका थिए।
आइतबार रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए।
पुस १० गते एमालेसहितको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदा रास्वपा सरकारमा सहभागी भएको थियो। त्यतिबेला पार्टी सभापति लामिछाने उपप्रधानमन्त्री एवम् गृहमन्त्री बनेका थिए।
नागरिकता विवादको मुद्दामा सर्वोच्चले लामिछानेलाई दोषी ठहर गर्दै सांसद पद नरहने फैसला सुनाएपछि लामिछाने उपप्रधानमन्त्री र गृहमन्त्रीबाट पदमुक्त भएका थिए। लामिछानेले पुन: नागरिकता लिएर गैरसांसदका रुपमा सरकारमा सहभागी हुन खोजेपनि प्रधानमन्त्री प्रचण्डले नमान्दा रास्वपा सरकारबाट बाहिरिएको थियो। यद्यपि उसले सरकारलाई दिएको समर्थन कायम राखेको थियो।
राष्ट्रपति निर्वाचनका क्रममा प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरेर नेपाली कांग्रेससँग सहकार्य गर्दा पनि रास्वपाले सरकारलाई दिएको समर्थन कायम राखेको थियो। उपनिर्वाचनपछि भने रास्वपाका नेताहरुले सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्ने बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।