फाइल तस्बिर भरतपुर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउने प्रयास भइरहेको बताएका छन्। रास्वपा सरकारमा आउने प्रधानमन्त्रीको विश्वास छ।
नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल चितवनले सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले रास्वपा सरकारमा सहभागी हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिए।
‘रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन। सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ,’ प्रधानमन्त्रीले भने। रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वभाविक नभएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापति लामिछाने यसैमा अडिन्छन् भन्ने आफूलाई नलागेको बताए।
सत्तासाझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री दाहालले उल्लेख गरे। रास्वपालाई अहिलेनै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको उनले उल्लेख गरे।
‘रास्वपका अध्यक्ष (सभापति) रवि जीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन। छलफलकै क्रममा भएकाले केही छैन,’ प्रधानमन्त्रीले भने।
सञ्चारकर्मीको एक प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले सरकार ५ वर्ष चल्ने बताए। ‘सरकार पाँच वर्ष चल्छ। यताउता हुन्छ कि भन्ने भ्रम हो,’ प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।