मुख्यमन्त्री यादव (फाइल तस्बिर)
काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रहरीको लापरवाहीका कारण सुरक्षा व्यवस्था कमजोर बन्दै गएको बताएका छन्। मुख्यमन्त्रीको खल्तीबाट दिनदहाडै पैसा चोरी भएको बताउँदै मुख्यमन्त्री यादवले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका हुन्।
आइतबार जनकपुरमा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले भने, ‘प्रदेश सरकारलाई प्रहरी समायोजन अति आवश्यक भइसक्यो। समायोजन नगरे पनि समन्वय गर्न आवश्यक छ। मुख्यमन्त्रीको खल्तीबाट पैसा चोरिन्छ दिनदहाडै भने त्यहाँको सुरक्षा कति बलियो छ?’
मुख्यमन्त्री यादवले भ्रष्टाचार नियन्त्रणका लागि आफू मातहत कुनै निकाय नभएकाले भ्रष्टाचार भइरहँदा पनि प्रदेश सरकार मुकदर्शक बनेर बस्नु बाहेकको विकल्प नभएको बताए।
मुख्यमन्त्री यादवले प्रदेश सरकारलाई प्रहरी समायोजन र कर्मचारी समायोजन अति आवश्यक भइसकेको बताए। संघ सरकारले प्रदेश सरकारसँग समन्वय समेत नगरेको यादवले गुनासो गरे।
प्रदेश सरकारसँग समन्वय नभएसम्म कुनै आयोगले पनि निष्पक्ष तरिकाले पीडितले न्याय पाउनेगरी कार्य सम्पादन गर्न नसक्ने बताए। उनले कर्मचारी समायोजन र प्रहरी समायोजन गरिदिए २४ घण्टाभित्र सबै पीडितलाई न्याय दिइए दोषीलाई कठघरामा उभ्याउने प्रतिबद्धता जनाए।
मुख्यमन्त्री यादवले भने, ‘मधेस प्रदेशमा हामी सबै जनता पीडित छौँ, किनभने भ्रष्टाचारीको कारण। दिनप्रतिदिन भ्रष्टाचार मौलाइरहेको छ। यसको जिम्मेवारी को ? हामीसँग त कुनै निकाय नै छैन, प्रदेश सरकार त एउटा मुकदर्शक बनेर बसेको छ। मैले आलोचना गरेको होइन, सत्य कुरा हो। प्रदेश सरकारलाई प्रहरी समायोजन अति आवश्यक भइसक्यो। तर समायोजन नगरेपनि समन्वय गर्न आवश्यक छ। मुख्यमन्त्रीको खल्तीबाट पैसा चोरिन्छ दिनदहाडै भने त्यहाँको सुरक्षा कति बलियो छ? जबसम्म प्रदेश सरकारसँग समन्वय हुँदैन, कुनै पनि आयोग बनाएर पनि निष्पक्ष तरिकाले पीडितले न्याय पाउँदैन। कर्मचारी समायोजन र प्रहरी समायोजन गर्नुस्, म यो प्रदेशमा २४ घण्टाभित्र सबै पीडितलाई न्याय दिलाएर दोषीलाई कठघरामा उभ्याउँछु। प्रदेश सरकारले पाउने अधिकार चाँडोभन्दा चाँडो फुकाइदिनुस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।