काठमाडौं– काठमाडौंको कपनमा विभत्स अवस्थामा मृत फेला परेकी निरा पाण्डेको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ गरेका युवकलाई झापाबाट काठमाडौं ल्याइएको छ। झापाको धुलाबारी घर भएका विनोद विश्वकर्मालाई प्रहरीले शनिबार झापाबाट पक्राउ गरेको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)की एआईजी किरण बज्राचार्य नेतृत्वमा छानबिन समित गठन भएपछि प्रहरीले घटनामा संलग्न रहेको भन्दै झापाबाट युवकलाई पक्राउ गरेको हो। पक्राउ परेका आरोपीलाई सीआईबीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीको तयारी छ।
विनोदको संलग्नता हुनसक्ने धेरै आधारहरु फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। विनोद केही समय अगाडिसम्म ठमेलको एक नाइट क्लबमा बाउन्सरका रुपमा कार्यरत रहेको पनि खुलेको छ।
कपनमा भाँडा–वर्तनको पसल चलाउँदै आएकी निरा वैशाख ७ गते आफ्नै पसलमा मृत फेला परेकी थिइन्।
निराको पसलमा जाने नियमित ग्राहकले उनलाई रगताम्य अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। त्यसपछि प्रहरीको टोलीले उनलाई ‘उपचारका लागि’ भनेर अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।