काठमाडौं– प्रतिनिधिसभा सदस्य मनिष झाले उच्च शिक्षाका लागि विद्यार्थी विदेशिने विषयलाई नकारात्मक ढंगले मात्र हेर्नु नहुने बताएका छन्।
नेपाल शैक्षिक परामर्श संघ इक्यानसँगको सहकार्यमा वानअपले आइतबार काठमाडौंमा आयोजना गरेको उच्च शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम 'एडुक्लेभ' मा आफ्ना भनाइ राख्दै सांसद झाले वैदेशिक शिक्षा आर्जन गर्ने कुरालाई खर्चका रुपमा नभई लगानीका रुपमा लिनुपर्ने बताएका हुन्।
फ्याक्ट्स नेपालका संस्थापक समेत रहेका सांसद झाले कार्यक्रममा भने, ‘वैदेशिक शिक्षाका लागि नेपालबाट जाने विद्यार्थीहरूको क्रम बढ्दो छ। त्यसकारण बाहिरको शिक्षालाई विरोध भन्दा पनि सदुपयोग कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण हो।’
विदेशमा अध्ययन गरेर स्वदेश फर्किएकाहरुले नेपाली समाजमा उल्लेख्य योगदान पुर्याएको भुल्न नहुने सांसद झाको भनाइ थियो।
विश्व नै एउटा गाउँ जस्तो भएका बेला विद्यार्थीलाई विदेश पढ्न नजाऊ वा विदेश पढ्न जानाले पैसा बाहिरियो भन्नु व्यावहारिक नहुने सांसद झाको भनाइ थियो। ‘नेपालमा अभिभावकहरूमा सन्तान हुुर्काउँदा र शिक्षा आर्जनका लागि बाहिर पठाउँदा स्पष्ट उद्देश्य हुनुपर्छ,’ उनले भने, ‘बाहिर पढ्न गएर उतै हराउँछन् भन्ने हुँदैन। स्वदेश फर्किएर योगदान गर्ने, पेशा–व्यवसाय गर्ने पनि उत्तिकै छन्। रेमिट्यान्स भित्र्याउने उनीहरु नै हुन्।’
नेपालबाट उच्च शिक्षाका लागि पछिल्लो समय युरोप, अमेरिका, अष्ट्रेलिया, क्यानाडा, जापान लगायतका विभिन्न देशमा नेपाली विद्यार्थी जाने गरेका छन्। युनेस्कोको तथ्यांक अनुसार नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीको संख्या सन् २०१७ मा ४४ हजार २ सय ५५ थियो भने त्यसको ५ वर्षपछि सन् २०२२ मा त्यो संख्या ९५ हजार २ सय ६८ पुगेको थियो।
आफ्नो प्रस्तुतिमा उच्च शिक्षाका लागि विदेशिनेहरुको तथ्यांक समेत राख्दै सांसद झाले विदेश पढ्न जानेहरुलाई उच्च शिक्षा, ज्ञान र सीप आर्जन गरेपछि स्वदेश फर्काउने वातावरण बनाउनेतर्फ राज्यको ध्यान जानुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।