काठमाडौं- राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले महावीर पुनको माग सान्दर्भिक रहेको बताएका छन्। पुनद्वारा शुक्रबारदेखि जारी धर्नामा पुगेका मिश्रले पुनको मागमा राप्रपाको सदनभित्र र बाहिर पनि ऐक्यबद्धता रहेको बताए।
मिश्रले अयोग्य लडाकुलाई सीप दिनुको साटो पैसा दिने, हुनै नसक्ने ठाउँमा डाँडाकाँडा काट्नलाई, डोजर चलाउनका लागि, एउटै गाउँमा विभिन्न नेताको दबाबमा तीनतिरबाट डाँडा काटेर बाटो बनाउनका लागि पैसा दिने, बजेटलाई व्यापक रुपमा छर्ने परिप्रेक्ष्यमा पुनको माग सान्दर्भिक रहेको बताएका हुन्।
‘त्यति नै पैसा उपयुक्त हाे कि हाेइन, अध्ययनको विषय होला’, मिश्रले भने, ‘तर, वास्तविकताचाहिँ इनोभेसन क्षेत्रलाई प्रबर्द्धन नगरीकन, विज्ञान र प्रविधिलाई प्रबर्द्धन नगरीकन कुनै पनि देश आर्थिक रुपमा अगाडि बढ्न पनि सक्दैन, कुनै पनि देश विकास र समृद्धिको बाटोमा हिँड्न पनि सक्दैन।’
राज्यले गर्नुपर्ने काम पुनले गरिरहेको मिश्रको भनाइ छ। उनले भने, ‘जुनसुकै देशमा पनि राज्य कमजोर भएपछि राज्यले बोक्नुपर्ने दायित्व नागरिकको काँधमा आइपर्छ। उहाँले त्यो काम धेरै अगाडिदेखि ठूलो संघर्ष गरेर गरिराख्नुभएको छ।’
राप्रपाको पूर्ण ऐक्यबद्धता छ भन्ने जानकारी दिन, पुनको मनोबल बढाउन र यो विषय अत्यन्त महत्त्वपूर्ण हो भनेर दबाब दिन आफूहरु माइतीघर आएको मिश्रले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।