काठमाडौं- पाँच वर्षअघि प्रदर्शन भएको दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ले थुप्रै बहस सिर्जना गरेको थियो। जातीय विभेदको सवाल उठाएको यो फिल्ममा अन्तरजातीय विवाह गरेर शहर पसेको जोडीले भोग्नुपरेको अपमान र संघर्षका कथा थियो।
फिल्मले जातीय विभेदको मुद्दा उठाउँदै गर्दा गम्भीर त्रुटि गरेको थियो। बलात्कारबाट जन्मिएको सन्तानलाई फिल्मको मुख्य पात्र बाबुराम (विपिन कार्की)ले प्रसादको रुपमा ग्रहण गरेको थियो। अन्तिममा त्रुटि छाडेर फिल्म सकिएको थियो।
तर, लेखक सुशील पौडेलले कथाको सिलसिला जारी राखे। पाँच वर्षपछि सिक्वेलका रुपमा ‘प्रसाद २’ बन्यो।
लेखक पौडलले केही दिनअघि अन्तर्क्रिया कार्यक्रममा ‘प्रसाद २’ ल्याउनुको अन्तर्य खोलेका थिए, ‘जातीय मुद्दालाई प्रसादमा ती जोडीले मात्र अनुभूत गरेका थिए। समाजले उनीहरूलाई स्वीकार गरेको थिएन। यत्रो मुद्दा छ। समाजबाट भागेका पात्रलाई त्यही समाजमा उभ्याउँदा कसरी फाइट गर्छन् त भन्ने कुरा देखाउनु थियो।’
‘प्रसाद २’मा १२ वर्षपछि बाबुराम (विपिन कार्की) र नारायणी (केकी अधिकारी) ८ वर्षको छोरा प्रसादसँगै गाउँ फर्कन्छन्। देशमा संविधान बनिसकेको छ। कानुन बनिसकेको छ। तर छुवाछुत अन्त्य भइसकेको छैन। गाउँमा कथित माथिल्ला जातबाट दलितहरू प्रताडित भइरहेका छन्।
जब बाबुरामले विभेदविरुद्ध लड्न वडाध्यक्षमा उठ्ने निर्णय गर्छ, कथाको तान बुन्न सुरु हुन्छ। तर कथा लय समात्न नपाउँदै धर्मराइरहन्छ। निर्देशक सुदर्शन थापाले पचास/साठीका दशकतिर बन्ने नेपाली सिनेमाका झल्को फिल्म अवधिभर दिलाइरहन्छन्।
फिल्ममा वडाध्यक्षको उम्मेदवार बनेर दलित पात्र बाबुराम उभिन्छ। तर विभेद विरुद्धको विद्रोह कथाले स्थापित गर्न सक्यो त? फिल्म अवधिभर यसको जवाफ स्पष्टसँग पाइन्न।
कथाको द्वन्द्व के हो? अलमल भइरहन्छ।
सुरुमा बाबुरामलाई विद्रोही र बलियो पात्रको रुपमा डोहोर्याइएको छ। तर फिल्ममा रमेश (जसले नारायणीलाई बलात्कार गरेको थियो)को आगमनसँगै ऊ कमजोर पात्रको रुपमा देखिन्छ। गाउँको सोच बदल्छु भनेर आएको पात्र सुरुमा गलत प्रवृत्तिविरुद्ध लड्छु भन्दैछ। तर रमेशको अपराधलाई समाजमा ढाकछोप गरिरहन्छ।
२०७२ को संविधान बनेपछिको सेटिङ छ फिल्ममा। तर बाबुराम दम्पतीले रमेशको खुलेआम धम्कीलाई चुपचाप सहिरहेका छन्। अपराधविरुद्ध कुनै कानुनी ‘एक्सन’ लिएका छैनन्। जबकि, रमेशले चुनावमा उठेको मुखियाको छोरासँग प्रतिवादमा उत्रँदा कानुनी हतियार उज्याएको थियो।
यो दम्पतीले गाउँमा लुकाउन खोजेको कुरा त आफूभित्रकै पीडा र रमेशको अपराध न थियो। फिल्मका खलनायक रमेशलाई जबर्जस्ती भयानक देखाउन खोजिएको छ।
पुरानै ढर्राका नेपाली सिनेमामा एउटा कथाको पुनरावृत्ति सधैं भइरहन्छ। त्यो हो खलनायकले नायिकालाई बलात्कार गर्न खोज्नु, अनि नायिकालाई बचाउन कोही पुरुष पात्र आउनु।
‘प्रसाद–२’ मा यो घटना दोहोरिरहन्छ। नारायणीलाई कमजोर पात्रका रुपमा उभ्याइएको छ। कहिले ऊमाथि बलात्कार प्रयास हुँदा ८ वर्षको छोराले आमालाई बचाउँछ। कहिले बाबुराम आइपुग्छ। फिल्मले यस्तो भाष्य स्थापित गरिदिएको छ कि, महिलाले न प्रतिवाद गर्न सक्छन्, न विद्रोह!
फिल्ममा आफ्नो छोरालाई मुखियाले एउटा डायलग बोल्छ, ‘बलात्कृत महिलालाई यो समाजमा कसले स्वीकार्छ। तँ भए स्वीकार्थिस्? तर त्यो बाबुरामले स्वीकार्यो।’
यो संवादले गलत बुझाइ निर्माण गरेको छ। किनकि बलात्कृत महिलालाई सामाजिक बल र मनोवैज्ञानिक सहयोगको ठूलो खाँचो हुन्छ। अपराधीलाई कडा दण्ड र पीडित महिलाको पुनस्र्थापनामा समाजको ठूलो दायित्व हुन्छ। ती पीडित महिलाको पीडामा यो संवादले मह्लम लगाउनुको साटो घाउलाई कोट्याउने काम गर्छ।
फिल्म जातीय विभेदविरुद्ध लडाइँको विषयमा छ। तर फिल्ममा यस्ता त्रुटि छन्, जसले उत्पीडनमा परेका दलित समुदायको मनमा झन् दखल पुर्याउँछ। गाउँमा पञ्चायत बस्दा बाबुरामको बाले एउटा संवाद बोल्छ, ‘जातले हामी सानो हौँला, तर हाम्रो पनि इज्जत छ।’ विदेभविरुद्ध चुनावमा छोरालाई भोट माग्न हिँडेको बा पात्रले आफूलाई सानो जातको भनेर स्वीकार गर्नु नै फिल्मको अर्को कमजोरी हो। जुन विषयमापथि फिल्म बनेको छ, त्यही विषयप्रतिको भाष्य गलत निर्माण गरिएको छ।
फिल्ममा बाल कलाकारलाई चुनावको प्रचारमा झण्डा बोकाएर हिँडाउनु पनि शोभनीय देखिँदैन। चुनावी प्रचारमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई प्रयोग गर्न नपाउने नियम छ। तर ८ वर्षको प्रसाद भोट माग्न प्रचारप्रसारमा हिँडिरहेछ। फिल्ममा केही दृश्य कलात्मकभन्दा बढी अश्लील देखिन्छन्। जस्तो कि होटल साहुनीको शरीरलाई क्यामेराको लेन्सले भद्दा र अश्लील किसिमले देखाइएको छ। फिल्ममा केही संवादहरू त्यस्तै भद्दा र अश्लील लाग्छन्।
फिल्ममा दर्शकलाई बाँधेर राख्ने कुराचाहिँ के हो त? कलाकारहरूको मिहिनेतले भने दर्शकलाई हलमा अडाइरहन मद्दत गर्छ। बाबुराम र नारायणीबीचको संवादहरूले हँसाउने र इमोस्नल बनाउने काम गरिरहन्छन्।
फिल्मको पार्श्वध्वनिले भने कतिपय ठाउँमा जबर्जस्ती दर्शकलाई इमोसनल बनाउन खोज्छन्। तर कथाले इमोसनल बनाउन चाहिँ सकिरहेको छैन। बाबुराम अध्यक्ष उठ्छु भनेर निर्णय गर्दा उसको बाबुमा डरको भयंकर संकेत पार्श्वध्वनिले दिन्छ। तर पार्श्वध्वनिमा बजिरहेको डरको संकेत पछि स्थापित हुन सक्दैन।
कथाको पृष्ठभूमिमा चुनाव छ। तर कसिलो मुद्दा छैन। यद्यपि, ‘प्रसाद’को त्रुटिलाई सच्याउन सिक्वेल लेखेका लेखक पौडेलले ‘प्रसाद २’मा अघिल्लो फिल्ममा निर्माण गरिएको भाष्यलाई सच्याउन भने खोजेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।