काठमाडौं- नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले अराजकता मच्चाएर राज्यसत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन्।
कोशी प्रदेश नामकरणको विरोध शान्तिपूर्ण रुपमा गर्न पाउने भए पनि नेकपा (माओवादी केन्द्र) का संगठनहरुले नै प्रमुख प्रतिपक्षी दलका नेतामाथि आक्रमणको प्रयास गर्नु आपत्तिजनक रहेको उनको भनाइ थियो। भट्टराईले अहिले एउटा राजनीतिक दल नेकपा एमाले लक्षित गरी आक्रमण भइरहेको आरोप पनि उनले लगाए। अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने र त्यहीमाथि टेकेर टाउकोमा हान्ने प्रचण्डपथ फेरि लागू गर्न खोजिएको हो भने कोशी प्रदेशमा सह्य नहुने उनले चेतावनी दिए।
‘प्रदेशको नामकरण र प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेश सभालाई हुन्छ । त्यसअनुसार ६ प्रदेशले नाम राजधानी सबै गरे। प्रदेश १ ले पनि निर्णय लियो। त्यसमा मुख्यमन्त्री हिक्मत कार्कीले सामान्य समन्वय गर्नुभयो। त्यसको विरोध गर्न पाइन्छ तर सीमा हुन्छ । उहाँहरुले अपनाएको शैलीको हामी निन्दा गर्दछौँ,’ उनले भने।
नेकपा एमाले लक्षित आक्रमण सैह्य नहुने भन्दै उनले प्रधानमन्त्री स्वयंले नै आगोमा घिउ थपिरहेको आरोप लगाए। भट्टराईले भने, ‘प्रधानमन्त्रीले सहमति दिनुभयो, पार्टी फिर्ता हुन्छ भन्नुभयो नामकरणपछि। रिपोर्टमा माओवादीका साथीहरु संलग्न भएका छन् भन्ने छ। त्यो कुरा पुलिस, प्रशासन, प्रधानमन्त्रीलाई थाहा छ। हामी गोरखाली भाषामा प्रचण्डपथलाई भन्न चाहन्छौँ, कोशी प्रदेशमा यो सम्भव छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।