काठमाडौं- राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सभापति निर्वाचनमा यही वैशाख २५ गते हुने भएको छ। शुक्रबार राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त जानकारी गराएका हुन्।
राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले निर्वाचन कार्यक्रम सार्वजनिक गर्न पनि राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँललाई निर्देशन दिए। ‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिको निर्वाचनका लागि मिति २०८० वैशाख २५ गते सोमबार अपराह्न २ बजेको समय तोकेको छु। समिति सभापतिको निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न राष्ट्रिय सभाका सचिवलाई निर्देशन दिन्छु।’
त्यसैगरी बैठकले राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा राष्ट्रिय सभाबाट प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ र मदनकुमारी साह गरिमालाई मनोनयन पनि गरेको छ। अध्यक्ष तिमिल्सिनाले प्रस्ताव गरेको सो नामावलीलाई बैठकले सहमति दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।