काठमाडौं- रास्वपाका अध्यक्ष रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बताएका छन्। शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा मन्त्री किराँतीले यस्तो बताएका हुन्।
होटल पौवामा आयोजित होटल सेवा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री किराँतीले भने, ‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन्। यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ। त्यसको लागि मैले के त्याग गर्नुपर्छ तयार छु।’
हजारौं जनताको बलिदानीबाट प्राप्त व्यवस्थाले अझै जरा गाड्न नसकेको बताउँदै उनले जनताको दैनिकी दयनीय बन्दै गइरहेको, अर्थतन्त्र जर्जर अवस्थामा पुगेको र यो सङ्कट मोचनका लागि अब राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्नेमा उनक जोड थियो।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको जुन अभिमत पायो। यो जनताको आक्रोस हो। मुख्यतः जिम्मेवार ठूला दलहरुको अकर्मण्यताको पराकाष्ठा हो। हामी राजनीतिको नाममा धेरै विभाजित भयौँ। अब देशलाई यो संकटबाट मुक्त गर्न सबै मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गरौँ,’ मन्त्री किराँतीले भने।
मन्त्री किराँतीले गणतन्त्र नेपालमा राणकालीन कानुन बोकेर हिँड्नु परेको समेत बताए। ‘एउटा व्यवसाय दर्ता गर्न ७ वटा मन्त्रालय, २२ वटा विभाग र सयौं टेबल पुग्नुपर्ने अवस्था छ। विदेशी पर्यटकलाई नेपाल भित्र्याउन झन्झटिलो नियम कानुन छन्। पैसामा चाबी लगाएर मरूभूमिमा श्रम गर्न पठाउने हाम्रो नीतिमामै खोट छ। युवालाई खाडी पठाएर तिनले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको छ तर तिनलाई नै आज प्लेनको टिकट महँगो भएकोले सास्ती भैरहेको छ,’ मन्त्री किराँतीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।