काठमाडौं- सत्तापक्षका सांसदहरुले फरारको सूचीमा रहेका एमाले सांसद लक्ष्मी महत्तो कोइरीलाई १० दिनभन्दा बढी अनुपस्थित हुने बिरामी सांसदको सूचीमा राखेपछि आपत्ति जनाएका छन्। संसद सचिवालयले १० दिनसम्म अनुपस्थित हुने सांसदको सूचीमा अन्य बिरामी सांसदसँगै राखेपछि विवाद सुरु गरेका हुन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुरुमै प्रश्न गरेका थिए। उनी फौजदारी अपराधमा फरार सूचीमा रहेकाले उनलाई बिरामीको रुपमा राख्न नसकिने भन्दै यसलाई सच्चाउन लेखकले माग गरे।
त्यस्तै सत्तापक्षका सासदहरुले १० दिनसम्म लगातार अनुपस्थित भएको सांसदको पद रिक्त हुने भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले पनि उनलाई बिरामीको सूचीमा राख्न नसकिने टिप्पणी गरे। उनले यो आफ्ना लागि पेचिलो भएको भन्दै उनी फरार नै रहेको दाबि गरे।
त्यस्तै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले पनि फरार सांसदहरुलाई बिरामीको रुपमा राख्ने कार्य गलत भएको टिप्पणी गरे।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि आफूले पटकपटक उनको बारेमा प्रश्न उठाएको र सभामुखले ध्यानाकर्षण भएको भन्ने गरेको तर अहिले बिरामी भनेर राख्न नमिल्ने तर्क गरे।
सत्ता पक्षका सांसदहरुले प्रश्न उठाएपछि प्रमुख प्रतिपक्षका तर्फबाट नेकपा एमालेका सांसद रघुजी पन्तले बोलेका थिए। उनले सरकारमा रहेकाहरुले फरार हुन् भने पक्राउ गर्न उनले चुनौती दिए। उनले सरकारमा रहेका गृहमन्त्रीले पक्राउ पनि नगर्ने संसद् अवरोध गर्न नमिल्ने बताए। सत्तापक्षको अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घन्टाका लागि बैठक स्थगित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।