काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारका कारण कर्मचारीलाई तलब पनि खुवाउन नसक्ने अवस्था आउन लागेको आरोप लगाएको छ। एमाले पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै एमालेका उपमहासचिव विष्णु रिमालले यस्तो आरोप लगाएका हुन्।
‘हामीले तीन वटा विषय उठाएका छौं। राजनीतिक अस्थिरता सुरु भएको छ। जब राजनीतिक रुपमा अस्थिर हुन्छ, मुलुकमा विकास हुँदैन,’ उनले भने, ‘अर्थतन्त्र अझै आरोलो लगाउने हर्कत राज्यले गरेको छ।’
उनले सम्पन्न भएका ८० अर्ब रुपैयाँ बराबरका योजनाको भुक्तानी निर्माण व्यवसायीलाई सरकारले दिन नसकेको, शिक्षकहरुले पेन्सन नपाएको, सेवा निवृत्त कर्मचारीको पेन्सन बराबरको १० अर्ब रोकिएको भन्दै सरकार यस्तो अवस्थामा पनि चिन्तित नदेखिएको टिप्पणी गरे। त्यस्तै सामाजिक सुरक्षा भत्ता ५ अर्ब बराबर रोकिएको, यी सबै जोड्दा १ खर्ब २० अर्ब भुक्तानी गर्नुपर्ने राज्यको दायित्व छ तर सरकार चिन्तित नभएको उनले बताए।
‘राजश्व संकलन भइरहेको छैन। तलब पनि कर्मचारीले नपाउने अवस्था बनिरहेको छ। तर सरकार शान्ति प्रक्रियापछि माओवादी लडाकुलाई दुई लाख रुपैयाँ दिने कुरामा लागेको छ,’ उनले भने, ‘विगतमै टुङ्गिएको तर पटकपटक राजनीतिको रोटी सेक्ने काम अयोग्य लडाकुको नाममा भएको छ।’ १ अर्ब रकम अयोग्य लडाकुलाई वितरण गर्ने कुरा अहिले गलत हुने उनले दाबी गरे।
त्यस्तै शान्ति सुरक्षाको कुरामा पनि सरकार असफल भएको आरोप रिमालले लगाए। उनले नेताहरुलाई अवरोध गर्ने कुरा र कर्मचारीमा जान समेत रोक्दै आक्रमण गर्ने कार्य भइरहेको भन्दै सत्तापक्षका कार्यकर्ताकै कारण अराजकता बढेको उनको भनाइ थियो।
राजधानीमै दिनदहाडै महिलाको हत्या हुँदासमेत सरकारले केही गर्न नसकेको भन्दै उनले पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवासचन्द्र नेमाङमाथि झापामा ढुङ्गामुढा प्रहार भएको घटनालाई प्रशासन र सरकारले गम्भीर रुपमा नलिएको आरोप लगाए। ‘उक्त घटना हुँदा प्रशासन मुकदर्शक भएको देखियो, ’उनले भने, ‘घटनाअघि र घटनापछि केही नगरेको भन्दै यो एक्कासि नभई नियोजित रुपमै माओवादीका कार्यकर्ताहरु नै संलग्न भएको देखिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।