काठमाडौं- सरकारले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। शुक्रबार १२ बजे मध्यरातबाट यो अधिवेशन अन्त्य गर्न लागिएको हो। यो अधिवेशन अन्त्य गर्दै बजेट अधिवेशनको तयारी सरकारले गर्न लागेको हो।
संसद् सचिवावलयका अनुसार हिउँदे अधिवेशन अन्त्य गरेर केही समयपछि नयाँ अधिवेशन बोलाइनेछ। संविधानमा जेठ १५ गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने उल्लेख भएकाले त्यसअघि सरकारको नीति तथा कार्यक्रम, प्रिबजेट छलफल चलाउनका लागि सरकारले यो अधिवेशन अन्त्य गर्न लागेको हो।
मंसिर ४ गते भएको निर्वाचन र वैशाख १० गते भएको निर्वाचनमा विजयी भएकाहरु संसदको यो अधिवेशनमा सहभागी भएका छन्। यो अधिवेशनले नयाँ सरकार निर्माण बाहेक अन्य उल्लेख्य काम गर्न सकेको छैन। सभामुख, उपसभामुख चयन यही अधिवेशनमा भएको छ।
सभामुख देवराज घिमिरेले सरकारबाट अधिवेशन अन्त्य गर्ने निर्णय भएको पत्र प्रतिनिधि सभामा सुनाउनेछन्। त्यस्तै राष्ट्रिय सभा पनि अन्त्य हुनेछ। सभामुखले अन्तिम दिन प्रतिनिधि सभाका समितिहरुमा रहने सदस्यहरुको नामावाली पेस गर्ने तयारी गरेका छन्। योसँगै संसदीय समितिहरु गठनको बाटो खुल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।