काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले राज्यसत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले देशको अर्थतन्त्र संकटको समयमा भएको यो निर्णय सत्ताको चरम दुरुपयोग भएको टिप्पणी गरे।
‘८० अर्ब निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी छ। राजश्वले चालु खर्च धान्न सकेको छैन। यस्तो अवस्थामा अस्वाभाविक र महँगो राष्ट्रपतिको विदेशको उपचार र लडाकुका लागि रकम वितरणको तयारी गरिएको छ। यो सत्ताको चरम दुरुपयोग हो,’ उनले भने, ‘अयोग्य लडाकुहरुलाई सिप, रोजगारी र स्वास्थ्य उपचारमा सहुलियत दिन सकिन्छ तर यस्तो सत्ताको दुरुपयोग गर्न हुँदैन।’
उनले कोभिडको समयमा आफू धेरै बिरामी भएको र द्वन्द्वको समयमा आफूले ठूलो क्षति ब्यहोरेको तर राज्यबाट कुनै रकम नलिएको दाबी गरे। भविष्यमा पनि आम नागरिकभन्दा फरक सुविधा र विदेश उपचार यात्रा नगर्ने उनले बताए।
लिङ्देनले यहाँको प्रविधि र डाक्टरले सक्दैनौ नभनेसम्म विदेशमा उपचार नगर्ने दाबी गरे। त्यस्तै उनले बौद्धिक पलायन रोक्नुपर्नेमा बताए। उनले चिकित्सा शिक्षा आयोगले रोलक्रममा भएका मानिसहरुलाई रोलक्रम उल्लंघन गरेर भर्ना गरेको देखिएको भन्दै सदनको ध्यानाकर्षण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।