काठमाडौं- अयोग्य लडाकुलाई आफ्ना पैसा बाँड्ने विषयमा माओवादी केन्द्रका सांसद् माधव सापकोटाले बचाउ गरेका छन्। सिंगो व्यवस्था बदल्नका लागि बलिदान गर्न तयार रहेका लडाकुहरुलाई दुई लाख दिने विषय उनीहरुको सम्मानका लागि रहेको उनले बताएका छन्।
तत्कालीन राजाले व्यवस्था नै हडपेको समयमा तिनै योद्धाहरुले आजको अवस्थामा पुर्याएको उनले स्मरण गराएका छन्। गिरिजाप्रसाद कोइरालाको टाउको फुटेको र चित्रलेखा यादवले नारायणहिटी अगाडि संसद् चलाएको दृश्य सम्झाउँदै उनले उक्त रकम दिनु जायज रहेको बताए।
उनले भने, 'तिनै लडाकुले स्याउला र बन्दुक बोकेर ल्याएको व्यवस्था हो। दुई लाख रुपैयाँले युद्ध लडेका महान लडाकुलाई केही पनि चल्दैन। उनीहरुलाई उक्त रकम दिनुहुँदै भने सिंगै व्यवस्था परिवर्तन गर्न बलिदान गर्न अघि सर्नेलाई अपमान गर्ने? यही हो राजनीतिक धर्म?'
कतिले अझै शरीरमा गोली बोकेर हिँडेको बताउँदै उनीहरुको अवस्था देखेर रुनबाहेक अरु गर्न नसक्ने अवस्था रहेको बताए। त्यस्ता योद्धाको अपमान गर्ने छुट कसैलाई नरहेको बताए।
उक्त कार्यक्रम अहिलेको नभई २०७३ सालमा अर्थमन्त्री विष्णु पौडेल भएकाले बजेट बक्तव्यमै समेटिएको सापकोटाले उल्लेख गरे। उनले उक्त बजेटको बुँदा पढेर सुनाउँदै भने, 'अहिले कार्यविधि मात्रै बनाउन खोजेको हो। त्यो बेला मुद्दा परेर अदालतले नै कार्यविधि बनाएर दिन आदेश गरेपछि अहिले दिन लागिएको हो।'
वर्तमान विरोध भनेको अर्काको कद काटेर अग्लो र हिलो छ्यापेर सुकिलो हुने प्रवृत्तिको पुनरावृत्ति रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।