काठमाडौं- नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन्। उनले झापा जाँदै गर्दा केपी शर्मा ओली, सुवासचन्द्र नेमाङ लगायत नेताहरुमाथि आक्रमण भएको भन्दै उक्त कार्यमा संलग्नहरुमाथि कारबाही गर्न माग गरे। उनले आफ्ना नेताहरु जिल्ला भ्रमणमा रहेको भन्दै कुनै तलमाथि भए राम्रो नहुने भन्दै खबरदारी गरे।
‘जनताले बनाएको संविधानको गणतन्त्रमा हामी छौं। तर देशको एक भागबाट अर्को भागमा जाने क्रममा हाम्रा नेताहरुमाथि आक्रमण भएको छ,’ उनले भने, ‘संविधान निर्माणदेखि गणतन्त्रसम्म योगदान दिएका नेतामाथि सांघातिक आक्रमणमा सत्तापक्षकै कार्यकर्ता पनि संलग्न भएको सूचना पाएका छौं।’
उनले एमाले कार्यकर्ता र प्रहरीहरु समेत घाइते भएको भन्दै घाइते प्रहरीको उपचार गर्न माग गरे। एमाले अध्यक्ष केपी शर्मा ओली र संविधान सभाका अध्यक्ष सुवास नेमाङमाथि आक्रमण भएको तर सरकार छ कि छैन भनेर प्रश्न उठेको उनले दाबी गरे।
उनले जिम्मेवार नेताहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जाँदा किन आक्रमण भएको हो भनी प्रश्न गरे।
आक्रमणकारीलाई उक्साउने कार्य भएको र सत्ता गठबन्धनका कार्यकर्ताहरु समेत संलग्न भएको कुरा आएको भन्दै उनले गर्न खोजेको के हो भनी प्रश्न गरे।
उनले शान्ति सुरक्षा प्रर्दशन गर्ने कुरामा सरकारको उदासिनता देखिनु खेदको कुरा भएको बताए। पौडेलले गृहमन्त्रीले जवाफ दिएको तर आक्रमण किन नरोकिएको भन्दै प्रश्न गरे। सरकारले शान्ति सुरक्षा गृहमन्त्रीले दिएको जानकारी सदनमा गराएको तर यो कार्यमा संलग्नहरुलाई पक्राउ गरेर कारबाही गरियोस् भन्ने माग गरे।
‘सरकार आम नागरिकलाई सुरक्षा दिन सक्षम छ कि छैन, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ,’ उनले भने, ‘यस प्रकारको आक्रमणप्रति सरकार सहिष्णु देखिनुले आफ्नै कार्यकर्ता परिचालन गरेको देखिन्छ। यसमा घोर निन्दा गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।