झापा– कीर्ते गरी नक्कली जग्गाधनी दर्ता प्रमाण पूर्जा दिँदै ठगी गरेको आरोपमा १ वृद्धलाई प्रहरीले पक्राउ गरेको छ। ठगी गरेको घटनामा संलग्न रही फरार भएका मेचीनगर नगरपालिका–६ का ७३ वर्षीय ज्ञान बहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको हो।
मेचीनगर नगरपालिका–६ मेचीडाँडास्थित ऐलानी जग्गाको जग्गाधनी प्रमाण पूर्जा उपलव्ध गराइदिने भन्दै मेचीनगर नगरपालिका–६ बस्ने ७५ वर्षीय भुपध्वज दाहाल र ज्ञान बहादुर गिरी लगायतले विभिन्न मितिमा ठगी गरेको भन्दै उजुरी परेको थियो। उजुरीका आधारमा प्रहरीले गिरीलाई पक्राउ गरे पनि दाहाल भने फरार भएका छन्।
उनीहरुले १० हजारदेखि ७० हजार रूपैयाँसम्म रकम लिइ निवेदकहरूको फोटो टाँसिएका रातो मसीले सहीछाप समेत गरी नक्कली जग्गा धनी दर्ता प्रमाण पूर्जा तयार पारेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ।
इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न ज्ञान बहादुर गिरीलाई पक्राउ गर्नुका साथै हाल फरार भुपध्वज दाहालको खोजी गरिरहेको छ।
ज्ञान बहादुर उपर जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।