काठमाडौं– कपनमा केही समय पहिला भएको विस्फोटनको घटनाका घरबेटीले भाडामा बस्ने तथा कीर्तिमानी आरोही निर्मल पूर्जासहितका व्यक्तिलाई विपक्षी बनाएर क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन्।
कपनस्थित राममन्दिर लसुनटारमा रहेको आफ्नो घर भाडामा लिएको इलिट हिमालयन एडभेन्चर प्रालिलाई विपक्षी बनाउँदै घरबेटी टंक घिसिङले मुद्दा दायर गरेका हुन्। इलिट हिमालयन एडभेन्चरका मुख्य सञ्चालक कीर्तिमानी आरोही निर्मल पूर्जा छन्। उनीसहितका व्यक्तिलाई विपक्षीलाई बनाएर मुद्दा दायर गरिएको हो।
बुढानिलकण्ठ नगरपालिका–११ को कित्ता नम्बर १४५ को एक रोपनी जग्गामा बनेको साढेदुई तले घर इलिट हिमालयन एडभेन्चर प्रालिले भाडामा लिएर ग्यास भण्डारण गरेको थियो।
२०७९ असोज ५ गते सिलिन्डर विस्फोट हुँदा कम्पनीमा कार्यरत तीनजना कामदार कर्मचारीहरुको समेत मृत्यु भएको थियो। घरमा क्षति पुगेको थियो।
क्षतिको माग गर्दै मुद्दा दायर गरिएको घरबेटी घिसिङका कानुन व्यवसायी अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए।मुद्दा परेपछि काठमाण्डौं जिल्ला अदाललते कम्पनीको शेयर कारोबार, सञ्चालकको नाममा रहेको जग्गा र कम्पनीको बैंक खाता रोक्का गरिसकेको छ।
२०७७ मंसिर १ गते १० बुँदे करार सम्झौता गरी घर भाडामा लिई पूर्जाले पर्यटन व्यवसाय चलाउँदै आएको घरबेटीको दाबी छ।
मासिक तीस हजार भाडा तिर्ने र कुनै क्षति भए सो को क्षतिपूर्ति समेत आफैंले ब्यहोर्ने तथा घर दुरुस्त अवस्थामा राख्नुपर्ने दायित्वसहित करार सम्झौता गरिएको घिसिङले दाबी गरेका छन्।
बुढानिलकण्ठ नगरपालिका–११ का वडाध्यक्ष राजु अधिकारीको संयोजकत्वमा एउटा क्षतिपूर्ति समिति गठन गरी क्षतिपूर्ति दिलाउन पटकपटक छलफल गराउँदा समेत क्षतिपूर्ति दिने दिलाउने विषयमा सहमति हुन नसकेपछि मुद्दा दायर गरिएके बताइएको छ।
विस्फोटमा परेर घरभित्र रहेको धनमाल, नगद, सुनचाँदी, लत्ताकपडा, फर्निचर र मोटरसाइकल, पूर्ण रुपमा क्षति हुंदा आफ्नो तीन करोड ५५ लाख क्षति भएको दाबी घरधनीको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।