काठमाडौं– प्रहरीले नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ घर भइ हाल गोदावरी नगरपालिका–१३ झरुवारासी बस्ने ३६ वर्षीय जिवन भन्ने सुरेश तामाङ र कास्कीको मादी गाउँपालिका–१ का २१ वर्षीय सुकुटे भन्ने भुपाल विक रहेका छन्।
आइतबार सुरेशले झरवारासीमा दिनेश थपलियाको किराना पसलबाठ पाँच किलो मैदा र दुई लिटर खानेतेल खरिद गरेका थिए। उनले एक हजारको नोट दिएकोमा पछि थपलियाले उक्त नोट नक्कली भएको शंका मानेर प्रहरीलाई खबर गरेका थिए।
तत्कालै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा खटिएको टोलीले सुरेशलाई पसल नजिकै नियन्त्रणमा लिएको थियो। शरीर खानतलासी गर्दा उनको साथबाट नेपाली रुपैयाँ एक हजारको नोट एक थान, पाँच सयको एक थान र एक सयको एक थान फेला परेका थिए। जाँच गर्दा उक्त नोटहरु नक्कली भएको पाइएपछि सुरेशलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
अदालतबाट मुद्रासम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्ने क्रममा उनले विकको पनि संलग्नता रहेको खुलाएका थिए। त्यसपछि भने प्रहरीले विकको खोजतलास गर्ने क्रममा विकलाई गोदावरी नगरपालिका–११ बज्रबाराहीबाट नियन्त्रणमा लियो।
बिहीबार नियन्त्रणमा लिइएका विकको साथबाट पनि प्रहरीले नेपाली रुपैयाँ पाँच दरको एक थान र एक सय दरको एक थान फेला पारेको थियो। यस्तै उनी बस्ने डेरामा खानतलासी गर्दा मुद्रा सम्बन्धी कसुरमा प्रमाण लाग्ने फोटोकपी/प्रिन्ट मेसिन एक थान बरामद गरिएको प्रहरीले जनाएको छ।
साथै उनको कोठामा नेपाली रूपैया एक हजार, पाँच सय र एक सय दरका नोटको फोटो कपि गरिएको कागजातहरू समेत फेला पारी रितपूर्वक बरामद गरी उनलाई नियन्त्रणमा लिई सम्मानित ललितपुर जिल्ला अदालतबाट म्याद अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।