काठमाडौं– सशस्त्र प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँ चार लाख ३४ हजार ७ सय २० र भारतीय ५९ हजार ६ सय १० रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
उनीहरुलाई सोमबार सुनसरीको कोशी गाउँपालिका–९ स्थित सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१२ का १८ वर्षीय सुरेश लिम्बू र १७ वर्षीय विकाश मण्डल रहेका छन्।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर (बिओपी हरिपुर)ले उक्त रुपैयाँसहित नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।