गोरखा– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलिदानबाट प्राप्त परिवर्तन उल्ट्याउन ठूलो षड्यन्त्र र घेराबन्दी भइरहेको बताएका छन्।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाकमा आयोजना गरेको भूकम्प स्मृति दिवस कार्यक्रममा उनले परिवर्तनलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पारेर महान उपलब्धिको रक्षा गर्नुपर्ने बेला आएको बताए।
पछिल्लो समय राजनीतिक पार्टी तथा तिनका नेतालाई बदनाम गर्ने र देशमा अराजकता उत्पन्न गरी अराजकताको जगमा देशको राष्ट्रियता कमजोर पार्ने विभिन्न षड्यन्त्र भइरहेको भन्दै उनले त्यसकाविरुद्ध सचेत रहन पनि सबैलाई आग्रह गरे।
उपप्रधानमन्त्री श्रेष्ठले कुनै भ्रममा नपरी गलत प्रवृतिलाई असफल पार्नुपर्नेमा जोड दिए। ‘नेपालमा राजनीतिक पार्टीले युगान्तकारी परिवर्तनका लागि संघर्ष गरेका छन्’, उनले भने, ‘संविधानसभाबाट संविधान बनाएर परिवर्तनको संस्थागत विकास भयो, यसलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पारेर महान उपलब्धिको रक्षा गर्नु आवश्यक छ।’
उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान परिवर्तनलाई सामाजिक र आर्थिक क्षेत्रमा विस्तार गर्न भइरहेको प्रयत्नलाई समेत बदनाम गर्न खोजिएको बताए। उनले व्यवस्था परिवर्तन भएपछि अवस्थामा सापेक्षित परिवर्तन गर्न किन सकिएन भन्नेतर्फ दलहरुले पनि समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।