काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो नेतृत्वमा भएको रसिया भ्रमण ऐतिहासिक रुपमा उपलब्धिपूर्ण भएको बताएका छन्।
रुसको उपल्लो सदन संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्काको निमन्त्रणमा भएको रुसको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा भएको पत्रकार सम्मेलनमा रुससँग अन्तर–व्यवस्थापिका सहयोग आदनप्रदानका साथै आपसी सहयोग वृद्धिका लागि भ्रमण महत्वपूर्ण भएको बताएका हुन्।
भ्रमणका क्रममा रुसको उपल्लो सदन र राष्ट्रिय सभाकाबीच अन्तर–संसदीय सहयोगलाई प्रवर्द्धन गर्नेलगायतका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको उनले जानकारी दिए।
राष्ट्रियसभा र फेडेरेसन काउन्सिलकाबीचमा भएको समझदारीपत्रमा नेपाल र रुसी महासंघबीच अन्तर–संसदीय सहयोगलाई प्रवर्द्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदान–प्रदान गरी सांसद, समिति, आयोग र कार्यालयबीच निकट अन्तरक्रियामार्फत् अन्तर–संसदीय सम्बन्धलाई सुदृढ गर्ने उल्लेख छ।
यस्तै आधुनिक डिजिटल प्रविधिको प्रयोग गरी संसदीय गतिविधि, आधिकारिक प्रकाशन, र आपसी चासोका अन्य दस्तावेजहरुको सूचना आदानप्रदान गर्दै संसदीय गतिविधिहरु, संसदीय गतिविधिको डिजिटाइजेशन, र सभा, समिति तथा आयोगहरूका कार्यमा सूचना तथा सञ्चार प्रविधिको उपयोगमा अनुभव आदानप्रदान गर्ने समझदारीपत्रमा उल्लेख छ। समझदारीपत्रमा अन्तर–व्यवस्थापिका संघ लगायत त्यस्ता अन्तर्राष्ट्रिय संसदीय मञ्चहरुमा सहकार्य विकास गर्दै जाने र संसदीय मैत्री समूह गठन गर्नेसमेत समावेश गरिएको छ।
अध्यक्ष तिमिल्सिनाले नेपाल सरकारले चाहेको अवस्थामा जिटुजी मार्फत रुसबाट रासायनिक मल र गहुँ आयात गर्न चाहेको तथा विगतमा रोकिएको नेपाल र रुस सिधा हवाई उडान पुनः सुरु गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन रुस तयार रहेको जानकारी पनि दिए।
रुसको सहयोगमा बनेको कान्तिबाल अस्पतालको क्षमता विस्तारका लागि पनि रुसले चासो दिएको छ भने नेपालका स्थानीय तह र रुसका स्थानीय तहकाबीचमा पनि मितेरी सम्बन्ध विस्तार गर्ने सहमति भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।