काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद गएको छ। सभामुख देवराज घिमिरेले पार्टीबाट निष्काशन गरिएको सूचना संसद्मा जानकारी गराएपछि उनी सांसद पदबाट मुक्त भएका हुन्।
मन्त्री बन्न दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गरेको थियो। पार्टीको साधारण सदस्यसमेत नरहनेगरी उनलाई कारबाही गरिएको थियो।
सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्न पार्टी सभापति रवि लामिछाने निकटस्थहरुलाई दुई करोड बुझाउनुपर्ने बताएका थिए।
उक्त अडिओ श्रेष्ठकै रहेको रास्वपाको छानबिन समितिले पार्टी र सांसदबाट निष्काशन गरेको जानकारी संसद् सचिवालयलाई पठाएको थियो।
रास्वपाले यसअघि श्रेष्ठका ठाउँमा विन्ध्यबासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।