काठमाडौं- रौतहटका एक युवकलाई अपहरण गरी फिरौती माग गरिएको छ। अपहरण गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा रौतहटको राजदेवी नगरपालिका–६ मोहनपुरका २३ वर्षीय दिपेश भनिने मन्त्रीबाबु राय र सोही ठाउँका २१ वर्षीय राजा भनिने राजाबाबु पटेल छन्। पक्राउ परेकामाथि अपरहण शरीर बन्धक तथा ज्यान मार्ने उद्योगको कसुरमा जिल्ला अदालत रौतहटबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको रौतहटका प्रहरी प्रवक्ता दिनेशबहादुर कुँवरले बताए।
वैशाख ९ गते साँझ ७ बजेतिर मन्त्रीबाबुले रौतहटको परोह नगरपालिका–३ तेजापाकडका ३० वर्षीय राजकुमार महतो भनिने हिरामान महतोलाई आफ्नो घरमा बोलाएका थिए। त्यसपछि बलरा भन्ने ठाउँका एक रक्सी भट्टीमा लगेर ८/९ जनाको समूहले महतोलाई बन्धक बनाएको थियो। महतोलाई अपहरण गरी हातखुट्टा समेत बाँधेर पेस्तोल ताक्दै बन्धक बनाएर राखिएको थियो।
यो गिरोहले फिरौती वापत महतोसँग ४ लाख समेत मागेको थियो। रकम नदिए मारिदिने बताएपछि महतोले परिवारलाई फोन गरेर रकम माग गरेका थिए। अपहरणकारीले समेत महतोको परिवारलाई फोनमा धम्की दिँदै फिरौती रकम माग गरेका थिए।
त्यसपछि उक्त सूचना प्रहरीसम्म पुगेको थियो। वैशाख ११ गते बिहान ९ बजे महतोलाई अपहरण गरिएको स्थानबाट भारतर्फ लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो। यो समूहका अन्य सदस्य भने फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।