काठमाडौं- तनहुँ- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहेका स्वर्णिम वाग्लेले वैशाख १० गते भएको उपनिर्वाचनमा आफूलाई जनताले दिएको मत पुराना दल र नेतृत्वप्रतिको वितृष्णा भएको टिप्पणी गरेका छन्। मतगणना चलिरहँदा सञ्चारकर्मीसँग कुरा गर्दै वाग्लेले आफूले पाएको मत राजनीतिमा आएका नयाँ युवाहरुप्रतिको आसाको मत पनि भएको बताए।
‘तनहुँमा देखिएको आकर्षण पुरानो दल र नेतृत्वप्रतिको वितृष्णा हो र युवाले गरेको आसा पनि हो,’ उनले भने। उनले मतदाता समक्ष गरेको वाचा पूरा गर्न आफ्नो इमान्दार प्रयास हुने बताए। जनतामा दलहरुको राजनीतिक शैलीको कारण वितृष्णा रहेको र उनीहरुले नयाँ युवा खोजी गरिरहेको भन्दै आफू त्यसको विकल्प भएको दाबी गरे।
उनले लोकतन्त्रमा एक जनाले जादुको छडी चलाएझैं चमत्कार केही गर्न नसक्ने तर यही प्रणालीभित्र रहेर सामूहिक रुपमा आफूले काम गर्ने उनले बताए। यो प्रणाली सुधार गरेर काम गर्नुपर्ने उनले बताए। वाग्लेले नतिजा अहिले नै अन्तिम नभएकाले यसलाई कुर्ने पनि बताए।
उनले तनहुँ- १ मा दोब्बर मतले अग्रता कायम गरिरहेका छन्। वाग्लेले १८ हजार ६ सय ६३, उनका प्रतिस्पर्धी गोविन्द भट्टराईले ११ हजार ११ र एमालेका सर्वेन्द्र खनालले ६ हजार १ सय मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।