काठमाडौं- संसदको चालु अधिवेशन वैशाख १५ गतेसम्म मात्र चलाउने सहमति दलहरुबीच भएको छ। सिंहदबारमा भएको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुको बैठकले यस्तो सहमति गरेका हुन्।
सोमबार सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकपछि पत्रकारसँग कुरा गर्दै एमालेका प्रमुख सचेतक पदम गिरीले वैशाख १५ गतेसम्म यो अधिवशेन चल्ने बताए।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि यो अधिवेशन अब एक/दुई दिनमात्र चल्ने बताए।
सरकारले जेठ १५ गते संसदमा बजेट पेस गर्नु पर्नेछ। संवैधानिक व्यवस्था भएका कारण उक्त समयमा बजेट पेस गर्नुपर्ने भएकाले अधिवेशन अन्त्य गर्ने सहमति दलहरुले गरेका हुन्। यो अधिवेशन अन्त्य भएर बजेट अधिवेश सुरु भएपछि राष्ट्रपतिले संसदमा सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछन्। त्यस्तै संसदको उक्त अधिवेशनमा प्रि बजेट छलफल पनि हुनेछ। उक्त छलफलमा आएका सुझावहरुलाई समेट्दै सरकारले नयाँ आर्थिक वर्षको बजेट निर्माण गर्नु पर्नेछ।
आज भएको दलहरुको बैठकले संसदीय समितिमा पनि सहमति गरेका छन्। त्यस्तै टीआरसी विधेयक, सवैधानिक परिषद् सम्बन्धी विधेयक र संसदका अन्य कार्यमा पनि सहमति गरेर अघि बढ्ने सहमति दलहरुका बीचमा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।