काठमाडौं- सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेकपा एमालेका बीचमा जारी रहेको विवादमा सहमति भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदबारमा सोमबार भएको छलफलमा विवादित विषयहरुमा अघि बढाउने सहमति भएको हो।
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार संवैधानिक परिषद, संक्रमणकालीन न्याय , संसदीय समिति गठन र अन्य विचाराधीन विधेयकको बारेमा सहमति भएको छ। दलहरुका शीर्ष नेता र सचेतक सहितको उक्त बैठकले संवैधानिक परिषद सम्बन्धी विधेयकलाई समितिमा नपठाई सिधै संसदमा छलफल गरेर पारित गर्ने सहमति गरेको छ।
सरकारले संवैधानिक परिषद् सम्बन्धी विधेयक यसअघि नै प्रतिनिधि सभामा पेस गरेको छ। संसदबाट विधेयक पास गर्ने सहमति दलहरुका बीचमा भएपछि सर्वोच्च अदालतका लागि तत्काल प्रधानन्यायाधीश नियुक्तका लागि सिफारिस नहुने देखिएको छ।
यसअघि बसेको संवैधानिक परिषदको बैठकमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति सम्बन्धी अजेण्डा वितरण गरिएको थियो। तर उक्त बैठकमा एमालेले सुनुवाइ समिति नभएकाले सिफारिस गर्न नसकिने भनेपछि रोकिएको थियो।
प्रतिनिधि सभामा रहेको विधेयक छिट्टै पारित भएर राष्ट्रिय सभा जानुपर्नेछ। संघीय संसदमा माथिल्लो सदन राष्ट्रिय सभाले पारित गरेर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विधेयकले ऐनको रुपमा ग्रहण गर्नेछ। अनि मात्र प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक बोलाउने अनि बसेर सिफारिसको निर्णय हुने देखिन्छ। यो प्रक्रियाका लागि कम्तिमा वैशाख महिना बित्ने देखिन्छ। सर्वोच्च अदालत १५ महिनादेखि कामुको भरमा चल्दै आएको छ।
टिआरसीका लागि १५ सदस्य विशेष समिति
लामो समयदेखि अल्झदै आएको बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप ऐन संशोधन विधेयकका लागि अलग्गै विशेष समिति गठन गर्ने निर्णय शीर्ष नेताहरुका बीचमा भएको छ। यो समिति नियमित समितिभन्दा भिन्न हुनेछ। यसमा संक्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया टुङ्गो लगाउनका लागि जानकारहरुले सरोकारवाला सबैसँग छलफल गरेर प्रतिवेदन बनाउनेछ।
संसद् अन्तर्गतको समितिले दिने प्रतिवेदनपछि प्रतिनिधि सभा हुँदै राष्ट्रिय सभाबाट ऐन संशोधन हुनेछ। सत्ता गठबन्धनले यो विधेयकलाई पारित गरेर शान्ति प्रक्रियाको काम टुंग्याउने तयारी गरेको छ। हाल सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग नेतृत्वविहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।