काठमाडौं- निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भाग लिएका उम्मेदवारहरुलाई आफूले गरेको खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ। यसका लागि उम्मेदवारहरुले सामाजिक सञ्जालबाट पनि सार्वजनिक गर्न सक्ने आयोगले बताएको छ।
आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै यसरी सार्वजनिक भएको खर्च विवरणको प्रमाण सहितको जानकारी निर्वाचन कार्यलयलाई उपलब्ध राउन पनि आयोगले आग्रह गरेको छ।
‘निर्वाचन आयोगले संवत् २०७९ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिई निर्वाचन खर्चको विवरण पेस गर्ने ५,५६१ (पाँच हजार पाच सय एकसठ्ठी) जना उम्मेदवारहरूलाई आफूले गरेको निर्वाचन खर्च सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित गाँउपालिका वा नगरपालिका वा वडा कार्यालयको सूचना पाटी, राजनीतिक दलको जुनसुकै तहको कार्यालय वा वेबसाइट (राजनीतिक दलको तर्फबाट उम्मेदवार भएका उम्मेदवारको हकमा), आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, टिवटर, ईन्स्टाग्राम) बाट सार्वजनिक गर्न सक्ने र यसरी सार्वजनिक गरेको प्रमाण सहितको जानकारी सम्बन्धित उम्मेदवारहरूले आ–आफ्नो प्रदेश÷जिल्ला निर्वाचन कार्यालयलाई दिनु पर्ने निर्णय गरेको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस सम्बन्धमा आयोगले मंसिर ४ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्ने ५ हजार ५६१ जना उम्मेदवारहरूलाई निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण ७ दिनभित्र सार्वजनिक गरी सार्वजनिक गरेको जानकारी आफू उम्मेदवार भएको जिल्लाको प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न मिति २०८० वैशाख ६ गते निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।