काठमाडौं- संवैधानिक परिषद् र संसदीय समिति गठन गर्नेबारेमा दलहरुबीच देखिएको विवादमा सहमति जुटेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको तीन दलका शीर्ष नेता र सचेतकहरुको बैठकमा सहमति भएको हो।
बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्याउन विशेष समिति गठन गर्ने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए।
१० वटा विषयगत समितिमध्ये एमालेले लेखा समिति र राज्यको निर्देशक समितिको सभापति पाउनेछ।
त्यस्तै संसदीय विशेष सुनुवाइ समितिको सभापति कांग्रेसले लिने सहमति भएको छ। उक्त समितिमा एमालेका तर्फबाट ४ जना सदस्य रहने सहमति भएको छ। यसअघि एक सिट एकीकृत समाजवादीलाई दिने प्रस्ताव गरिएको थियो।
बैठकमा सहभागी एमालेका प्रमुख सचेतक गिरीले संवैधानिक परिषदसम्बन्धी विधेयक सिधै संसदमा लगेर पारित गर्ने सहमति भएको बताए। यो विधेयक नहुँदा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्त हुन सकेको छैन। १५ महिनादेखि सर्वोच्च कामुकै भरमा चलेको छ।
वार्तामा एमालेबाट अध्यक्ष केपी ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक गिरी सहभागी थिए। कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक थिए भने माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए।
यो सहमतिसँगै अब सर्वोच्चमा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने बाटो खुल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।